काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य तथा विंगर अन्जन विष्ट मार्की खेलाडीको रुपमा फ्रेन्चाइज टिम ललितपुर सिटी एफसीमा अनुबन्धित भएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम ललितपुरले सोमबार अन्जनलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
ललितपुरले उनलाई ५ लाख ५० हजारमा अनुबन्धित गरेको हो ।
ललितपुरका मालिक तथा भाटभटेनी सुपर मार्केटका कार्यकारी निर्देशक कल्याण गुरुङ र अन्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका अन्जन नेपाली टिमका नियमित सदस्य हुन् । उनले एपीएफ क्लबबाट समेत खेलिसकेका छन् ।
ललितपुरसँग सम्झौता गरेपछि अन्जनले टिमबाट खेल्न आतुर रहेको बताए ।
'लिग खेल्न आतुर छु । टिम राम्रो गराउन प्रयास गर्छु । जित्ने लक्ष्य सहित तयारी गर्छौ । आफ्नो शतप्रतिशत दिन्छु र पहिलो पटक हुन लागेको लिगलाई सफल गराउन सबैलाई लाग्न अपिल गर्छु,' अन्जनले भने ।
सोमबार नै अर्को टिम धनगढी एफसीले विशाल राईलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको थियो ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
लिगमा धनगढी एफसी, विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ ।
टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ ।
लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् । यस्तै दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउने छन् ।