नेपालगन्ज । सुदुरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले एन्फा प्रेसिडेन्ट लिगमा विजयी सुरुवात गरेको छ ।
नेपालगन्जमा सोमबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गर्दै स्टार सिटीले सुखद सुरुवात गरेको हो ।
नेपालगन्ज रंगशालामा स्टार सिटीलाई जित दिलाउन रुप बहादुर लामाले दुई गोल गरे । यस्तै दिपक राज सिंह ठकुरीले एक गोल गरे ।
रुप बहादुरले खेलको तेस्रो र ८१ औं मिनेटमा गोल गरे । दिपकले ४६ औं मिनेटमा गोल गरेका थिए ।
रुपबहादुर खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई बाँके जिल्ला प्रहरी प्रमुख एसपि ओमबहादुर रानालो नगद पाँच हजार प्रदान गरे ।

प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले गरेका थिए ।
चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छन् ।
प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् ।

यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउनेछन् ।
प्रसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् ।