काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एन्फाले शुक्रबार चैतमा त्रिदेशीय अन्तराष्ट्रिय फुटबल आयोजना गर्ने जनाएको छ ।
प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म हुनेछ ।
दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् ।
किर्गिस्तानको टिम भने यू-२३ टिम हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा कुल ४ खेल हुनेछ ।
विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल रद्ध हुने बित्तिकै एन्फाले अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी गरेको थियो ।
नेपालमा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गरेर विश्वकप छनोटका लागि दबाब दिने रणनीतिमा एन्फा लागेको हो ।
एन्फा विश्वकप छनोटका बाँकी खेल नेपालमै आयोजना गर्न चाहन्छ । तर कोरोनाको कारण देखाएर अन्य देश नेपाल बाहिर खेल्न चाहन्छन् ।
नेपाली दर्शक समक्ष विश्वकप छनोटको खेल खेल्न गाह्रो हुने अन्य देशको आँकलन छ ।
एन्फा अन्तराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गरेर विश्वकप छनोटको बाँकी खेल घरेलु भुमिमै सञ्चालन गर्न चाहेको छ ।
