काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनले जित निकालेको छ ।
शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको मध्यपुरले पुल्चोक स्पोर्ट्स क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन धिरज श्रेष्ठले दुई गोल गरे ।
मध्यपुरले एक गोल आत्मघाती उपहार पाएको थियो ।
पुल्चोकका किश्मत लिम्बु र श्यारब लो तामाङले एक एक गोल फर्काए ।
खेलको १७ औं मिनेटमा किश्मतले गोल गर्दै पुल्चोकलाई अग्रता दिलाएका थिए ।
३३ औं मिनेटमा मध्यपुरका धिरजले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा श्यारबले गोल गर्दै पुल्चोकलाई २-१ को अग्रता दिलाए ।
खेलको ६३ औं मिनेटमा पुल्चोकका याम बहादुर श्रेष्ठले आत्मघाती गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।
त्यसपछि खेलको ६७ औं मिनेटमा धिरजले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-२ को जित दिलाए ।
यस्तै खेलको इन्जुरी समयमा धिरजले दोहोरो पहेलो कार्ड पाउँदै रातो कार्ड पाएपछि मध्यपुर १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै मध्यपुरले ९ खेलमा १० अंक जोडेको छ ।
मध्यपुर लिगको सातौं स्थानमा समेत उक्लिएको छ ।
पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।