काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले सहज जित निकालेको छ ।
शुक्रबार भएको खेलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोको जितमा अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक एक गोल गरे ।
सातदोबाटोले एक गोल आत्मघाती उपहार पाएको थियो ।
बाँसबारीका अमृत श्रेष्ठले आत्मघाती गोल गर्दा निशान सुनारले एक गोल फर्काए ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा ११ औं मिनेटमा अशिमको गोलबाट सातदोबाटोले अग्रता बनाएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा अमृतले आत्मघाती गोल गरेपछि पहिलो हाफमा सातदोबाटोले २-० को अग्रता बनायो ।
खेलको ५२ औं मिनेटमा प्रवेशले गोल गर्दै सातदोबाटोको अग्रता तेब्बर बनाए ।
खेलको ६२ औं मिनेटमा दिनेशले गोल गर्दा सातदोबाटो ४-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७७ औं मिनेटमा बाँसबारीका निशानले एक गोल फर्काएपनि सातदोबाटोले ४-१ को सहज जित निकाल्यो ।
जितसँगै सातदोबाटो उपाधि नजिक पुगेको छ ।
अब एक जित निकालेमा सातदोबाटो 'ए' डिभिजनमा बढुवा हुनेछ ।

सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ ।
बाँसबारीले ९ खेलमा १८ अंक जोडेको छ ।
बाँसबारी तेस्रो स्थानमा रहेको छ ।
