काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी आज पाकिस्तान प्रस्थान गर्दै छन् ।
पाकिस्तानको घरेलु लिग ‘राष्ट्रिय महिला वुमेन्स फुटबल च्याम्पियनसिप’ खेल्न चार खेलाडी आज साँझ पाकिस्तान जाने भएका हुन् ।
राष्ट्रिय टोलीका नियमित सदस्य एन्जिला तुम्बाप्पो सुब्बा, गिता राना, अनिता केसी र सरु लिम्बुले पाकिस्तानी लिग खेल्ने छन् ।
पाकिस्तान फुटबल फेडेरेशन (पीएफएफ) ले आयोजना गर्ने लिगमा चारै खेलाडीले मासा युनाईटेड फुटबल क्लबबाट खेल्ने छन् ।
उनीहरु दुबई हुँदै पाकिस्तान पुग्ने छन् । उनीहरुको सम्झ ७:१५ बजेको फ्लाइट रहेको छ ।
चारै खेलाडीले भर्खरै सम्पन्न राष्ट्रिय महिला लिगमा एपीएफलाई अपराजित राख्दै उपाधि दिलाएका थिए ।
गोलरक्षक एन्जिला, डिफेन्डर गिता, मिडफिल्डर सरु र स्ट्राइकर अनिताले पहिलो पटक विदेशमा पुगेर प्रतियोगिता खेल्न लागेका हुन् ।
यस अघि स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेलेका थिए ।
सावित्रा र अनिता पछि महिला टोलीमा विदेशी क्लबको प्रतिनिधित्व गर्ने यी चार खेलाडी भएका छन् । चारै खेलाडी पाकिस्तानी घरेलु प्रतियोगिता खेल्ने पहिलो खेलाडी समेत हुनेछन् ।
प्रतियोगिता मार्च ८ बाट अप्रिल ३ सम्म कराचीमा आयोजना हुँदैछ । प्रतियोगितामा २० क्लबको सहभागीता रहनेछ ।
चार नेपाली खेलाडी सम्मिलित मासा युनाईटेड समूह 'बी' मा रहेको छ । प्रत्येक समूहमा पाँच टोली रहेका छन् ।