निजगढ । योङ्गस्टार युवा क्लब तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनलमा सिंगौल फुटबल क्लब 'ए' लाई २-० गोल अन्तरले पराजित गर्दै योङ्गस्टार उपाधि नजिक पुगेको हो ।
योङ्गस्टारको जितमा अरुण लामाले दुई गोल गरे ।
खेलको ३३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अरुणले योङ्गस्टारलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५३ औं मिनेटमा अरुणले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।
खेलको म्यान अफ द म्याच योङ्गस्टारका अरुण लामा भए ।
प्रतियोगिता अन्तर्गत मंगलबार दोस्रो सेमिफाइनलमा हिमाल युवा क्लब र निजगढ युवा क्लब 'ए' बीच प्रतिस्पर्धा हुनेछ ।
यस खेलको विजेताले योङ्गस्टारसँग फाइनलमा भिड्ने छ ।
प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।