नुवाकोट । नुबागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा घरेलु टोली नुवाकोट युनाइटेड र धादिङले जित हात पारेका छन् ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा घरेलु टोली नुवाकोट युनाइटेडले दोलखालाई २-१ गोल अन्तले पराजित गरेको छ ।
नुवाकोटलाई जित दिलाउन विवेक गुरुङ र साहिल नगरकोटीले एक एक गोल गरे । दोलखाका रोशन श्रेष्ठले एक गोल फर्काए ।
जितसँगै नुवाकोट समूहको शीर्ष स्थानमा पुगेको छ । नुवाकोटले ६ अंक जोडेको छ । दोलखा १ अंकका साथ तेस्रो स्थानमा छ ।
समूह 'बी' को दोस्रो खेलमा धादिङले सिन्धुलीमाथि ४-० को फराकिलो जित हात पारेको छ ।
धादिङलाई जित दिलाउन श्रीकृष्ण भण्डारी, अभिषेक कुमार, विपिन कडेल र चतुरमान तामाङले एक एक गोल गरे ।
जितपछि धादिङ ४ अंकसहित समूहको दोस्रो स्थानमा उक्लिएको छ । सिन्धुली पुछारमा रहेको छ ।