बुटवल । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गतको 'बी' डिभिजनमा वेस्टर्न क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ ।
भैरहवाको सिदार्थ रंगशालामा शुक्रबार बुटवल युथ क्लबलाई १० विकेटले हराउदै वेस्टर्नले सुखद सुरुवात गरेको हो ।
पहिले ब्याटिङ गरेको बुटवलले २६ ओभर १ बलमा अलआउट हुँदै ५४ रन बनायो । उसका लक्ष्मण परियारले सर्वाधिक १० रन बनाए ।
वेस्टर्नका अनिल खरेलले ३ तथा कृष्ण कार्की, सन्देश थापा र बिक्रम भुषालले २/२ विकेट लिए ।
बुटवलले दिएको ५५ रनको लक्ष्य वेस्टर्नले ६ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो ।
वेस्टर्नका देव खनालले अविजित ३४ रन जोड्दा भुवन पाण्डेले अविजित १७ रन बनाए ।
लिगमा १२ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार प्रदान गरिने छ ।