अबिनाश थापा
निजगढ । सिंगौल फुटबल क्लब ए टिम तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो क्वाटरफाइनलमा निजगढ सिटी क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै सिंगौल अन्तिम चारमा पुगेको हो ।
सिंगौलका रोशन थापाले खेलको पाँचौ मिनेटमा गोल गर्दै अग्रता टोलीलाई दिलाएका थिए । ४० औं मिनेटमा बुद्धिमान भुलोनले गोल गर्दै निजगढलाई बराबरीमा फर्काएका थिए ।
खेलको ६५ औं मिनेटमा सब्सिच्युट खेलाडी अर्बिन थापाले गोल गर्दै सिंगौललाई २-१ अग्रता दिलाए ।
६८ औं मिनेटमा अर्का सब्सीच्युट खेलाडी सन्दिप खुलालले गोल गर्दै सिंगौललाई ३–१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा निजगढका बुद्धिमान भुलोनले पेनाल्टीमा गोल गरेपनि सिंगौल ३-२ ले विजयी भयो ।
खेलको म्यान अफ द म्याच निजगढ सिटीका सिजल तिमल्सिना चुनिए ।
शुक्रबार हुने दोस्रो क्वाटरफाइनलमा रतनपुर युनाईटेड युथ क्लब र हिमाल युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।