एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ ।
बुधबार राति भएको पहिलो लेगमा डर्टमण्डले स्पेनिस क्लब सेभियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
युवा फरवार्ड अर्लिङ हालाण्ड चम्किएपछि डर्टमण्डले सेभियालाई उसैको मैदानमा हराएको हो ।
खेलको सातौं मिनेटमा सुसोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।
तर, महमुदले १९ औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई १-१ को बराबरीमा फर्काए ।
खेलको २७ औं मिनेटमा हालाण्डले गोल गर्दा डर्टमण्ड २-१ ले अघि रह्यो ।
खेलको ४३ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले ३-१ को अग्रता बनायो ।
त्यसपछि खेलको ८४ औं मिनेटमा घरेलु टिमका लुक डी जोङले एक गोल फर्काए पनि डर्टमण्ड ३-२ ले विजयी भयो ।
पहिलो लेगमा जित निकालेसँगै डर्टमण्डले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
सेभियालाई भने दोस्रो लेगमा जित निकाल्नुपर्ने दबाब बढेको छ ।
दोस्रो लेग खेल मार्च ९ मा डर्टमण्डको मैदानमा हुनेछ ।