अबिनाश थापा
निजगढ । तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगितामा योङ्गस्टार युवा क्लब र निजगढ युवा क्लब 'ए' विजयी भएका छन ।
शहिद हिरालाल रंगशालामा मंगलबार भएको पहिलो खेलमा योङ्गस्टारले चौतारा युवा क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्यो ।
खेलको छैटौं मिनेटमा राजकुमार सारु मगरले गोल गर्दै चौतारालाई अग्रता दिलाएका थिए । तर, १७ औं मिनेटमा योङ्गस्टारका अरुण लामाले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको ३२ औं मिनेटमा रवी लामाले गोल गर्दै योङ्गस्टारलाई २-१ को अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा विनय लामाले गोल गरेपछि योङ्गस्टारले पहिलो हाफमा ३-१ को अग्रता बनायो ।
त्यसपछि खेलको इन्जुरी समयमा अरुणले व्यक्तिगत दोस्रो गोल गर्दै योङ्गस्टारलाई ४-१ को जित दिलाए ।
खेलको म्यान अफ द म्याच योङ्गस्टारका अरुण घोषित भए ।
दोश्रो खेलमा युवा क्लब 'ए' ले निजगढ-१३ युवा क्लबलाई ९-१ गोल अन्तरले पराजित गर्यो ।
निजगढ युवा क्लब 'ए' को जितमा समिर लामाले दोहोरो ह्याट्रिक पुरा गरे ।
यस्तै घनराज बिश्वकर्मा र जन्मेजय धामीले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
निजगढ-१३ का सन्देश लामाले एक गोल फर्काए । निजगढ १३ का सुन्दर बिश्वकर्माले एक आत्मघाती गोल गरे ।
खेलको म्यान अफ द म्याच निजगढ युवा क्लब 'ए' का समिर तामाङ भए ।
प्रतियोगिता अन्तर्गत बुधबार एफसी कोलगाउ र निजगढ वडा नम्बर ९ बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख र उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।