अविनास थापा
निजगढ । बाराको निजगढमा जारी तेश्रो निजगढ मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा हिमाल युवा क्लब र बाघभैरव युवा क्लबले जित निकालेको छ ।
शहिद हिरालाल रंगशालामा भएको पहिलो खेलमा हिमाल युवा क्लबले सिंगौल फुटबल क्लब 'बी' लाई २-१ गोल अन्तरले पराजित गर्यो ।
खेलको २८ औं मिनेटमा हिमालका अर्बिन कुमरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अतिरिक्त समयमा सिंगौलका छबिलाल विश्वकर्माले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा हिमालका वर्षात मोक्तानले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
खेलको म्यान अफ द म्याच हिमालका गोलरक्षक प्रमेश भए ।
यस्तै दोश्रो खेलमा बाघभैरव युवा क्लबले निजगढ युनाईटेड क्लबलाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।
बाघभैरवका लागि हस्त बहादुर चौरेलले ह्याट्रिकसहित ४ गोल गरे । दिल कुमार वाईबाले एक गोल गरे ।
निजगढका अजय कुमार रुम्बाले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
प्रतियोगिता अन्तर्गत मंगलबार दुईवटा खेल हुनेछन । पहिलो खेलमा चौतारा युवा क्लब र योङ्गस्टार युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोश्रो खेलमा निजगढ युवा क्लब ए र निजगढ १३ युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको बिजेता १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।