काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफ क्लबले कठिन जित निकालेको छ ।
सोमबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबमाथि २-१ गोलको संघर्षपूर्ण जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन रबिना गोलेले एक गोल गरिन् । एपीएफले एक गोल आत्मघाती उपहार पाएको थियो ।
पुलिसका अमृता जैशीले एक गोल फर्काईन् ।
निकै प्रतिस्पर्धात्मक बनेको विभागीय डर्बीमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा भने आत्मघाती गोलबाट एपीएफले अग्रता बनायो । ६९ औं मिनेटमा पुलिसकी कप्तान घिम कुमारी गुरुङले आत्मघाती गोल गरिन् ।
तर, ७५ औं मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । अमृताले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।
जारी लिगमा एपीएफले व्यहोरेको यो पहिलो गोल हो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा रबिनाले गोल गर्दै एपीएफलाई २-१ को जित दिलाईन् ।
जितसँगै एपीएफले अपराजित यात्रा कायम राखेको छ । र, एपीएफ उपाधि नजिक समेत पुगेको छ ।
एपीएफले १० खेलमा ३० अंक जोडेको छ ।
पुलिसले १० खेलमा १४ अंक जोडेको छ ।
चौंथो स्थानको पुलिस उपाधि होडबाट बाहिरिसकेको छ ।