काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् ।
यस्तै विमला चौधरीले दुई गोल गरिन् । चन्द्रपुरकी रजनी थोकरले सान्त्वना गोल फर्काईन् ।
खेलको १० औं मिनेटमा स्ट्राइकर रश्मीले गोल गर्दै आर्मीलाई अग्रता दिलाईन् । चन्द्रपुरको गोलरक्षक र डिफेन्डरको तालमेल नमिलेको फाइदा उठाउदै रश्मीले गोल गरिन् ।
चन्द्रपुर रश्मीको पूर्व टिम समेत हो ।
रश्मीके खेलको २२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी २-० ले अघि रह्यो । उनले विमला चौधरीको पासमा हेडमार्फत गोल गरिन् ।
खेलको २३ औं मिनेटमा विमलाले गोल गरेपछि आर्मीले ३-० को अग्रता बनायो ।
पहिलो हाफको इन्जुरी समयमा चन्द्रपुरकी रजनीले गोल गर्दा पहिलो हाफमा आर्मी ३-१ ले अघि रह्यो ।

खेलको ५० औं मिनेटमा रश्मीले पेनाल्टीबाट ह्याट्रिक पुरा गर्दा आर्मीले ४-१ को अग्रता बनायो । चन्द्रपुरको डिफेन्डरले हेमा चौधरीलाई डिबक्स भित्र फउल गरेपछि रेफ्री अस्मिता मानन्धरले आर्मीलाई पेनाल्टीको अवसर दिएकी थिइन् । जसम रश्मी चुकिनन् ।
खेलको ५६ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ५-१ को अग्रता बनायो । चन्द्रपुरकी गोलरक्षक युनिशा राईले फुत्काएको बललाई उनले सहजै गोल गरिन् ।
त्यसपछि खेलको ६१ औं मिनेटमा रश्मीले व्यक्तिगत चौंथो गोल गर्दै आर्मीलाई ६-१ को जित दिलाईन् ।
जितसँगै आर्मीले १० खेलमा २५ अंक जोडेको छ ।
आर्मी लिगको दोस्रो स्थानमा रहेको छ ।
आर्मी एपीएफ भन्दा २ अंकले पछि रहेको छ ।
एपीएफ ९ खेलमा २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछ ।
पहिलो खेलमा एपीएफ र नेपाल पुलिस भिड्ने छन् ।
यस्तै दोस्रो खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच खेल हुनेछ ।
के भन्छन् प्रशिक्षक ?
आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले तीन अंकमा खुसी रहेको बताए ।
'चाहिएको तीन अंक हो । तीन अंकमा सन्तुष्ट छु,' उनले भने, 'खेलाडीमा आत्मविश्वास धेरै भयो । त्यसैले स्कोर निस्कियो तर बढेन ।'
रौतहटका नूरराज काफ्लेले खेलाडीले बलियो टिमसँग राम्रो खेलेको बताए ।
'खेलाडीले राम्रो खेले । आज ६ गोल मात्रै भयो । विपक्षी गोल किपरको मिस्टेकले पनि एक गोल भयो,' उनले भने, 'अब वालिङसँग टप फाइट गर्छौं ।'