एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले ग्रानडालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
ग्रानडाको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तर, खेलको ६३ औं मिनेटमा मार्कुस लोरेन्टले गोल गर्दै एट्लेटिकोलाई १-० को अग्रता दिलाए ।

खेलको ६६ औं मिनेटमा यान्जल हरेराले गोल गर्दै ग्रानडालाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।
जितसँगै एट्लेटिकोले २१ खेलमा ५४ अंक जोडेको छ ।
एट्लेटिकोले दोस्रो स्थानको रियल मड्रिडलाई ८ अंकले पछि बनाएको छ ।
रियलको ४६ अंक रहेको छ ।
ग्रानडा ३० अंक जोडेर आठौं स्थानमा रहेको छ ।
