धनगढी । धनगढीको निसर्ग स्टार सिटी युवा क्लबले सुदूरपश्चिम प्रदेश लिगको उपाधि जितेको छ ।
शनिबार भएको दोस्रो लेगमा महेन्द्रनगरको दीपज्योती क्लबमाथि २-१ को जित निकाल्दै समग्रमा ५-३ को जितसहित स्टार सिटी च्याम्पियन बनेको हो ।
धनगढीको जुगेडास्थित मनकामना युवा क्लबको खेल मैदानमा स्टार सिटीलाई जित दिलाउन कप्तान कुवेर सिंह र दिवस बोहोराले एक एक गोल गरे ।
दीपज्योतीका लागि धिरेन्द्र शाहले एक गोल फर्काए ।
यस अघि बिहीबार भएको पहिलो लेगमा स्टार सिटीले ३-२ को जित निकालेको थियो ।
लिगको उपाधिसंगै स्टार सिटी प्रेसिडेन्ट कपका लागि सुदूरपश्चिमबाट छनोट भएको छ ।
प्रेसिडेन्ट कपमा सात वटै प्रदेशका विजेताहरु भिड्ने छन् । त्यसमा उत्कृष्ट चारमा पर्न सफल भएका चार प्रदेशहरुले राष्ट्रिय लिगमा सहभागिता जनाउनेछन् ।
सहिद स्मारक ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागीता जनाउने एन्फाले जनाएको छ ।