काठमाडौं । राष्ट्रिय फुटबल टिमका युवा फरवार्ड अभिषेक रिजालले आइजोल एफसीबाट भारतको आई लिग खेल्ने पक्का भएको छ ।
करिब ६ महिना अघि भारतको दोस्रो डिभिजनको क्लब मोहमेदन एफसीमा आबद्ध भएका अभिषेकले क्लब परिवर्तन गर्ने निर्णय गर्दै आइलिगको बाँकी सिजन आइजोलबाट खेल्ने पक्का गरेका हुन् ।
अभिषेक सम्मिलित मोहमेदन यसै वर्ष दोस्रो डिभिजनबाट आईलिगमा उक्लिएको छ । आईलिगमा उक्लिएको अवस्थामा मात्र निरन्तरता दिने गरि अभिषेकले क्लबसंग सम्झौता गरेका थिए । तर आईलिगमा उत्रने बित्तिकै मोहमेदनले बजेटमा भारी मात्रमा वृद्धि गर्यो ।
बजेट बढेसंगै मोहमेदनले बंगलादेशका कप्तान जामल बुयानलाई अनुबन्धन गर्यो । डेनमार्कमा जन्मिएका बंगलादेशी मुलका जामलको आगमनसंगै अभिषेक स्थान अनिश्चित बनेको थियो । एसियाली कोटाबाट आईलिगमा एकमात्र खेलाडी क्लबले राख्ने गरेका छन् ।
अभिषेकलाई मोहमेदनबाटै कलकत्ता लिग खेल्ने समेत अवसर थियो । तर भारतीय फुटबलमा भविष्य खोजिरहेका अभिषेकले आइलिगकै क्लब हेरिरहेका थिए । त्यसै क्रममा अभिषेकले आइ लिग क्लब आईजोल एफसीबाट बाँकी सिजन सक्ने निर्णय लिएका हुन् ।
क्लबले अभिषेकलाई मार्चको अन्तिमसम्मका लागि अनुबन्धन गरेको मेन्टर रविन्द्र चन्दले खेलपाटीलाई बताए । रविन्द्र नेपालका अन्तराष्ट्रिय स्टार रोहित चन्दका मेन्टर समेत हुन् ।
रविन्द्रका अनुसार अभिषेकले आइलिगको बाँकी सिजन नयाँ क्लबबाट खेल्नेछन् ।
‘कलकत्ता लिग खेल्ने अवसर समेत थियो । तर आइलिगकै क्लब हेरिरहेका थियौं । नयाँ अवसर खोज्ने क्रममा आइजोल एफसीसंग बाँकी सिजनका लागि सम्झौता गरेका छौं ।’ अभिषेकका मेन्टर रविन्द्रले भने ।
अभिषेक आइलिगका लागि फेब्रुअरी १२ मा भारत प्रस्थान गर्ने तयारीमा छन् । उनी हाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका छन् ।