काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिकाले साविक विजेता एपीएफसँग फराकिलो हार व्यहोर्यो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले चौदण्डीलाई २२-० ले हराएको थियो । जुन जारी लिगको एकै खेलमा निस्किएको सर्वाधिक गोल हो ।
राष्ट्रिय टोलीका सदस्यले भरिपूर्ण एपीएफका लागि सावित्रा भण्डारीले १२ गोल गरिन् । उनि राष्ट्रिय टिमका मुख्य खेलाडी हुन् ।
कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गरिन् । रेनुका नगरकोटी र सरु लिम्बुको नाममा एक एक गोल रह्यो ।
चौदण्डीविरुद्ध गोल गर्ने उनीहरु सबै राष्ट्रिय टिमका सदस्य हुन् ।
साविक विजेता एपीएफविरुद्ध चौदण्डी सबै पक्षमा निरिह बन्यो ।

तर, चौदण्डीको त्यो हारको भित्रि कथा केहि फरक छ ।
एपीएफविरुद्ध चौदण्डीले स्ट्राइकर अन्जना थुलुङलाई गोलपोस्टको जिम्मेवारी दिएको थियो ।
नियमित सहित ३ गोलरक्षक घाइते भएपछि चौदण्डीका प्रशिक्षक दिपक थापाले स्ट्राइकर अन्जनालाई गोलपोस्ट सम्हाल्ने जिम्मेवारी दिएका थिए ।
जसको कारण पनि एपीएफलाई गोलको वर्षा गर्नु सहज भयो ।
'प्लेईङ सेटका खेलाडी घाइते छन् । स्ट्राइकरलाई गोलरक्षकको भूमिका दिनु पर्यो । फर्वाडबाट आएर पनि उनले राम्रो खेल्यो,' प्रशिक्षक दिपकले खेलपछि भने ।
अन्जना टिमका मुख्य फरवार्ड पनि हुन् । फरवार्डसंगै गोलकिपीङमा समेत अब्बल हुँदा अन्जनाले गोलपोस्ट सम्हाल्ने पुमा पाएकी हुन् ।
'गोलकिपरको बारेमा फिजियोसँग कुरा गर्यौं । कहिलेसम्म टिक हुन्छ एकिन छैन । दोस्रो गोलकिपरले त प्रतियोगिता खेल्न नै सक्दैनन्,' उनले भने ।
अन्जना भने आफु गोलकिपर भन्दा फरवार्डमा राम्रो गर्न सक्ने बताउछिन् । तर, एपीएफविरुद्ध आफुले सक्ने प्रदर्शन गरेको बताए ।
'पहिला गोलकिपरमा खेल्दिन थिए । अगाडी खेल्नेलाई अगाडी नै सजिलो हुन्छ,' अन्जनाले भनिन्, 'मैले सक्ने गरे । तर, धेरै गोल खाए । राम्रो खेल्न सक्छु जस्तो लागेको थियो । मैले नै गोलकिपर बस्छु भन्दा गुरुले हुन्छ भन्नु भएको हो । अब गोलकिपर भन्दा फरवार्ड नै खेल्छु ।'