सावित्रा एक्लैको १२ गोल, एपीएफ २२-० ले विजयी

काठमाडौं । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२-० गोल अन्तरले पराजित गरेको हो ।
एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् ।
यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गरिन् । रेनुका नगरकोटी र सरु लिम्बुको नाममा एक एक गोल रह्यो ।
प्रतियोगिताकै कमजोर टिम चौदण्डीविरुद्ध एपीएफले पहिलो हाफमै १२ गोल गरेको थियो ।
यो जारी लिगमा अहिलेसम्मकै सर्वाधिक गोल हो ।
पाँचौं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । नवौं मिनेटमा अनिताले गोल गर्दा एपीएफ २-० ले अघि रह्यो ।
खेलको ११ औं मिनेटमा अनुले गोल गर्दा एपीएफको अग्रता तेब्बर बन्यो । १४ औं मिनेटमा अनुले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफ ४-० ले गाही रह्यो ।
सरुले खेलको १८ औं मिनेटमा गोल गर्दा एपीएफ ५-० ले अघि रह्यो । २० औं मिनेट अनुले ह्याट्रिक पुरा गर्दा एपीएफ ६-० ले अघि रह्यो ।
खेलको २६ औं मिनेटमा अनुले व्यक्तिगत चौंथो गोल गरेपछि एपीएफले ७-० को अग्रता बनायो ।
मिडफिल्डर रेनुकाले ३१ पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै एपीएफलाई ८-० को अग्रता दिलाए ।
प्रिती राईको पासमा सावित्राले ३२ औं मिनेटमा गोल गर्दा एपीएफ ९-० ले अघि रह्यो ।
खेलको ३३ औं मिनेटमा सावित्राले ह्याट्रिक पुरा गर्दा एपीएफले १०-० को अग्रता बनायो ।
३४ औं मिनेटमा सावित्राले व्यक्तिगत चौंथो गोल गर्दा एपीएफ ११-० र ३८ औं मिनेटमा सावित्राले व्यक्तिगत पाँचौ गोल गरेपछि पहिलो हाफमा एपीएफले १२-० को अग्रता बनायो ।
राष्ट्रिय टिमका खेलाडीले भरिएको एपीएफले दोस्रो हाफमा पनि गोल वर्षालाई निरन्तरता दियो ।
खेलको ४७ औं मिनेटमा सावित्राले छैटौं गोल गर्दै एपीएफलाई १३-० को अग्रता दिलाईन् ।
खेलको ५० औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफ १४-० ले अघि रह्यो ।
खेलको ५५ औं मिनेटमा सावित्राले सातौं गोल गरिन् । र, एपीएफको अग्रता १५-० को बन्यो ।
यस्तै ६२ औं र ६३ औं मिनेटमा सावित्राले गोल गर्दा एपीएफ १७-० को पुग्यो ।
६५ औं मिनेटमा अनुले व्यक्तिगत पाँचौ गोल गर्दा एपीएफले १८-० को अग्रता बनायो ।
खेलको ६७ औं मिनेटमा अनिताले ह्याट्रिक पुरा गर्दै एपीएफलाई १९-० को अग्रता दिलाईन् ।
७२ औं मिनेटमा सावित्राले व्यक्तिगत १० औं पुरा गर्दा एपीएफले २०-० को अग्रता बनायो ।
खेलको ७९ औं मिनेटमा सावित्राले व्यक्तिगत ११ औं गोल गर्दा एपीएफ २१-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा सावित्राले व्यक्तिगत १२ औं गोल पुरा गर्दा एपीएफले २२-० को जित निकाल्यो ।
के भन्छन् प्रशिक्षक ?
एपीएफका प्रशिक्षक भगवती थापाले खेलमा २२ गोल गरेपनि टिमको कमीकमजोरी देखिएको बताईन् ।
'आजको खेल राम्रो भयो । २२ गोल गर्यौं । तर, केही कमीकमजोरी पक्कै भयो । अझै सुधार गर्छौं,' भगवतीले भनिन्, 'लिगको छिनोफानो गर्ने अवस्था छैन । विभागसँग ५०-५० को स्थितिमा छौँ ।'
चौदण्डीका मुख्य प्रशिक्षक दिपक थापाले प्लेईङ सत्का खेलाडी घाइते हुँदा फराकिलो हार व्यहोरेको बताए ।
'एपीएफ अहिलेसम्म शीर्ष स्थानमा छ । गोल अन्तर घटाउन गयौं । तर, बल पोजिसन नरहनु नै धेरै गोल हुनु मुख्य कुरा रह्यो । प्लेईङ सेटका खेलाडी घाइते छन् । हाम्रो स्ट्राइकरले एपीएफलाई बिट गर्न सकेन्,' उनले भने ।
यससंगै एपीएफले लिगमा लगातार छैटौं जित निकालेको छ ।
एपीएफले ६ खेलमा १८ अंक जोडेको छ ।
एपीएफ शीर्ष स्थानमा यथावत रहेको छ ।
चौदण्डीको यो लगातार छैटौं हार हो ।
अंक विहीन रहेको चौदण्डी पुछारमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार एक खेल हुनेछ ।
मंगलबार वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।