शर्मिलाको ह्याट्रिकमा आर्मी शीर्ष दुईमा

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा आर्मीले विराटनगरलाई ७-० गोल अन्तरले परजित गरेको हो ।
आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै बिमला चौधरीले दुई गोल गर्दा रश्मी घिसिङ र बिमला बिकले एक एक गोल गरिन् ।
विराटनगरविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा आर्मीले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा ४ गोल गरेको थियो ।
खेलको २९ औं मिनेटमा आर्मीले पेनाल्टी पाएको थियो । विराटनगरकी सरिता शेर्पाले बिमला चौधरीलाई डिबक्स भित्र फउल गरेपछि आर्मीले पेनाल्टी पाएको थियो ।
तर, रश्मीको प्रहार विराटनगरकी गोलकिपर कल्पना कार्कीले सहजै बचाईन् ।
३६ औं मिनेटमा बिमला चौधरीको गोलबाट आर्मीले अग्रता बनायो । उनले मैदानको दायाँ भागको ठिक डिबक्स बाहिरबाट हानेको बल दोस्रो बारको टप कर्नरमा गोल गरिन् ।
खेलको ४५ औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । आर्मीको लागि दोस्रो गोल शर्मिलाले गरिन् ।
पहिलो हाफको इन्जुरी समयमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ३-० को अग्रता दिलाईन् ।
खेलको ६१ औं मिनेटमा शर्मिलाले ह्याट्रिक पुरा गर्दा आर्मीको अग्रता ४-० को बन्यो । प्रतियोगितामा दोस्रो ह्याट्रिक पूरा गर्ने क्रममा उनले विराटनगरकी गोलरक्षक कल्पनालाई बिट गरेकी थिइन् ।
खेलको ६७ औं मिनेटमा रश्मीले पेनाल्टीमा गोल गर्दै आर्मीलाई ५-० को अग्रता दिलाईन् । विराटनगरको डिफेन्डरलले डिबक्सभित्र ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई रश्मीले सहजै गोल गरिन् ।
खेलको ७१ औं मिनेटमा आर्मीले ६-० को अग्रता बनायो । डिफेन्डर बिमला बिकले फ्रिकिकबाट आएको बललाई नियन्त्रणमा लिदै गोल गरिन् ।
त्यसपछि खेलको ८५ औं मिनेटमा बिमला चौधरीले ब्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ७-० को जित दिलाईन् । उनले दिपा राईको पास सदुपयोग गरिन् ।
जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा आर्मी यो तेस्रो जित हो ।
आर्मीले ५ खेलमा १० अंक जोडेको छ ।
विराटनगर ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।