काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ३-१ को जित निकालेको हो ।
पुलिसलाई जित दिलाउन निर्मला बिक, निरु थापा र अनुष्का शेर्पाले एक एक गोल गरिन् ।
चन्द्रपुरकी सबिता राना मगरले एक गोल फर्काईन् ।
खेलमा सुरुवाती अग्रता पनि पुलिसले बनायो । २७ औं मिनेटमा निर्मलाले सिक्स यार्ड बक्सबाट गोल गरिन् । निरु थापाको हेड बल पोस्टमा लागेर फर्किएको बललाई निर्मलाले जाली चुमाएकी हुन् ।
तर, खेलको ३९ औं मिनेटमा पुलिसको गोलरक्षक सपना राईको गल्तीमा चन्द्रपुरले बराबरी गोल फर्कायो । स्ट्राइकर सबिताको हेड बललाई पुलिसकी गोलरक्षक सपनाले नियन्त्रणमा लिन सकिनन् ।
खेलको ५० औं मिनेटमा पुलिसले २-१ को अग्रता बनायो । परिवर्तित खेलाडी रेखा पौडेलले मिलाएको पासलाई डिबक्स भित्रबाट निरुले सहजै गोल गरिन् । प्रतियोगितामा निरुको यो पहिलो गोल हो ।
त्यसपछि खेलको इन्जुरी समयमा अनुष्काले गोल गर्दै पुलिसलाई ३-१ को जित दिलाईन् । परिवर्तित खेलाडी अनुष्काले रेखाले मिलाएको पासलाई सदुपयोग गरिन् ।
जितसंगै पुलिस लिगको दोस्रो स्थानमा उक्लिएको छ । पुलिसले ५ खेलमा ८ अंक जोडेको छ ।
छैटौं स्थानको चन्द्रपुरले ५ खेलमा ३ अंक जोडेको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर र आर्मी तथा दोस्रो खेलमा एपीएफ र चौदण्डीगढी भिड्ने छन् ।
के भन्छन् प्रशिक्षक ?
पुलिसका मुख्य प्रशिक्षक सन्जिब जोशीले विपक्षीलाई कमजोर सोचेर खेल्दा सोचेको जस्तो जित नआएको बताए ।
'विपक्षीलाई कमजोर सोच्दा सहज जित आएन । हामीले विपक्षी हेरेर खेलाडीलाई बेन्चमा राख्यौैं । नयाँलाई मौका दियौं । गोलकिपरको सामान्य गल्तिले गोल खायौं,' उनले भने ।
चन्द्रपुरका सहायक प्रशिक्षक चित्र दर्लामी मगरले अन्य खेलको तुलनामा खेलाडीले राम्रो खेलेको बताए ।
'आज राम्रो भयो । खेलाडीले अरु खेलको हिसावमा राम्रो खेले । एक गोल गरेपछि डिफेन्सिभ खेल खेल्यौं । खेलाडीले चोट बोक्दा समस्या आईरहेको छ,' उनले भने ।