काठमाडौं । विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन अनु राईले दुई गोल गरिन् ।
यस्तै ईमा राई, मनिषा थापा मगर, कुशुम खतिवडा र पार्वती घलेले एक एक गोल गरिन् ।
खेलको २१ औं मिनेटमा अनुले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन् ।
खेलको ३६ औं मिनेटमा अनुले व्यक्तिगत दोस्रो गोल गर्दा विराटनगरले २-० को अग्रता बनायो ।

खेलको ३९ औं मिनेटमा ईमाले गोल गर्दा विराटनगर ३-० ले अघि रह्यो ।
खेलको ४३ औं मिनेटमा मनिषाले गोल गरेपछि पहिलो हाफमा विराटनगर ४-० ले अघि रह्यो ।
दोस्रो हाफमा विराटनगरले थप दुई गोल गर्यो ।
खेलको ८२ औं मिनेटमा कुशुमले गोल गर्दै टोलीलाई ५-० को अग्रता दिलाईन् ।
लगत्तै ८३ औं मिनेटमा पार्वतीले गोल गरेपछि विराटनगर ६-० ले विजयी भयो ।
जितसँगै विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ ।
विराटनगर तेस्रो स्थानमा उक्लिएको छ ।
चौदण्डीको यो लगातार चौंथो हार हो ।
४ खेलमा अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।