काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई जितका लागि २ सय ५ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ४ रन बनायो ।
गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । अर्जुन कुमालले ४६ रन जोड्दा कप्तान विपिन खत्रीले ३२ रन बनाए ।
विशाल पौडेलले १५ रन जोडे भने दिनेश बुढामगर १० रनमा आउट भए ।
कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए । यस्तै अनुज चुनरा र दिवन पुनले २/२ विकेट लिए ।
कर्णालीविरुद्ध आज गण्डकी दोस्रो जितको खोजीमा रहेको छ ।
सोमबार भएको खेलमा गण्डकीले प्रदेश-१ लाई २ विकेटले हराएको थियो । पहिलो खेलमा भने गण्डकी आर्मीसँग पराजित भएको थियो ।
समूह 'ए' मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ । गण्डकी तेस्रो स्थानमा रहेको छ ।
कर्णाली भने पहिलो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा कर्णाली आर्मीसँग ८० रनले पराजित भएको थियो ।