काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेकवर्कसँग प्रत्यक्ष प्रशारण सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।
सम्झौतासँगै पीएम कप एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
पीएम कप क्रिकेट भोलिबाट टियु क्रिकेट मैदान सुरु हुँदैछ ।
उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।
टियु मैदानसँगै मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ ।
पीएम कपमा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन् ।
क्यानले प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ ।
समूह 'ए' मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन् ।
समूह 'बी' मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।