एजेन्सी । युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा जिनोआलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स क्वाटरफाइनलमा पुगेको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन डिजान कुलुसेभ्स्की, अल्भारो मोराटा र हम्जा राफियाले एक एक गोल गरे ।
जिनोआका लेननार्ट सिबोरा र फिलिप्पो मेलेगोनीले एक एक गोल फर्काए ।
खेलको दोस्रो मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

खेलको २३ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए ।
तर, खेलको २८ औं मिनेटमा जिनोआका सिबोराले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
खेलको ७४ औं मिनेटमा जिनोआका फिलिप्पोले गोल गरेपछि खेल २-२ को बराबरीमा सकिएको थियो ।
त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा सब्सिच्युट खेलाडी हाम्जा नायक बने ।
उनले खेलको १०५ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई ३-२ को महत्वपूर्ण जित दिलाए ।
हाम्जा खेलको ८८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदान छिरेका थिए ।

अर्को खेलमा इन्टर मिलानले फियोरेन्टिनालाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको छ ।
त्यस्तै नापोलीले इम्पोलीलाई ३-२ ले पराजित गरेको छ ।