बार्सिलोना सुपर कपको फाइनलमा

एजेन्सी । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति रियल सोसिडाडलाई टाइब्रेकरमा ३-२ ले हराउँदै बार्सिलोना उपाधि नजिक पुगेको हो ।
निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा बार्सिलोनाका ओस्मान डेम्बेले, मिरालिम पाजनिक र रिकी पुजले गोल गरे । तर, फ्रान्क डी जोङ र एन्टोनियो ग्रिजम्यानले गोल गर्न सकेनन् ।
सोसिडाडका अदनान जानुजाज र मिकेल मेरिनोले गोल गरे । उसका मिकेल ओयाराज्बाल, जोन बाउटिस्टा र विलियन जोसेले गोल गर्न सकेनन् ।
टाइब्रेकरमा जानु अघि २९ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५१ औं मिनेटमा मिकेलले गोल गर्दै सोसिडाडलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।
अब बार्सिलोनाले उपाधिका लागि रियल मड्रिड र एथ्लेटिक बिल्बाओबीचको विजेतासँग खेल्नेछ ।