एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ ।
आइतबार भएको खेलमा इन्टरले क्रोटोनलाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लाउटरो मार्टिनेजले ह्याट्रिक गरेपछि इन्टरले फराकिलो जित हात पारेको हो ।
सुरुवाती अग्रता भने क्रोटोनले बनाएको थियो । खेलको १२ औं मिनेटमा निकोलो जानेलाटोले गोल गर्दै क्रोटोनलाई अग्रता दिलाएका थिए ।
तर, २० औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ३१ औं मिनेटमा लुका मोर्रोनेले आत्मघाती गोल गरेपछि इन्टरले २-१ को अग्रता बनायो ।
लगत्तै ३६ औं मिनेटमा क्रोटोनका भाल्दमिर गोलेमिकले पेनाल्टीमा गोल गर्दा खेल २-२ को बराबरीमा पुग्यो ।
दोस्रो हाफमा भने इन्टरले लगातार गोल गर्यो । ५७ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई ३-२ को अग्रता दिलाए ।
खेलको ६४ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै घरेलु टोलीलाई ४-२ को अग्रता दिलाए ।
७८ औं मिनेटमा मार्टिनेजले ह्याट्रिक पुरा गर्दा इन्टर ५-२ ले अघि रह्यो ।
त्यसपछि खेलको ८७ औं मिनेटमा अच्राफ हाकिमीले गोल गर्दै इन्टरलाई ६-२ को जित दिलाए ।

जितसँगै इन्टर तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।
इन्टरले १५ खेलमा ३६ अंक जोडेको छ ।
क्रोटोन ९ अंक जोडेर पुछारमा रहेको छ ।