एजेन्सी । म्यान्चेष्टर सिटीका स्टार इल्के गुन्डोगनले चेल्सीका टिमो वार्नर र काई हभार्ट्जको संघर्ष सामान्य रहेको बताएका छन् ।
ईङ्ल्याण्डमा कठिन संघर्ष गर्दै राम्रो प्रर्दशन गर्न प्रयासरत चेल्सीका दुई खेलाडीलाई गुन्डोगनले समर्थन गरेका हुन् ।
चेल्सीले समर ट्रान्सफरमा दुवै खेलाडीलाई किन्न १ सय १७ मिलियन पाउण्ड रकम खर्च गरेको थियाे ।
वार्नरले बुन्डेसलिगा क्लब आरबी आईपेजिगमा रहँदा बुन्डेसलिगा र च्याम्पियन्स लिगमा राम्रो प्रभाव छाडेका थिए । उनले युरोपको उत्कृष्ट युवा खेलाडीमा आफुलाई स्थापित गरेका थिए ।
त्यही अनुसारको प्रर्दशनमा हभार्ट्जले बायर लिभरकुसनमा देखाएका थिए । उत्कृष्ट पास, बल नियन्त्रणमा राख्ने कला र गोलका कारण उनले आफुलाई जर्मनमा स्थापित गरेका थिए ।
दुवै खेलाडीले नियमित रुपमा जर्मनीको राष्ट्रिय टिममा प्रर्दशन गर्दै आएका छन् । तर दुवै खेलाडी वेस्ट लण्डन क्लबमा संघर्ष गरिरहेका छन् ।
सिटीका खेलाडी गुन्डोगन जर्मनीको राष्ट्रिय टिमका सदस्य हुन् । तर उनी वार्नर र हभार्ट्ज लण्डन क्लबमा संघर्ष गरिरहदाँ आश्चार्यमा छैनन् । दुवैलाई नयाँ वातावरणमा घुलमिल हुन समय लाग्ने गुन्डोगनको बुझाई छ ।
‘उनीहरुसंग दुई नयाँ जर्मन खेलाडी छन् । जसले यथासम्भव अनुकुल हुनका लागि कोशिश गरिरहेका छन् ।’ सिटीका मिडफिल्डरले भने ।
‘सामान्यतया प्रिमियर लिगमा भिज्न समय लाग्छ । जब तपाई फरक देशबाट आउनुहुन्छ । अहिले जस्तो अवस्था बनेको छ । मलाई लाग्छ, यो अझ कठिन हुनेछ ।’ उनले थपे ।
‘मलाई लाग्छ, यो सामान्य हो । उनीहरु केही संघर्ष गरिरहेका छन् । तर दुवै अविश्वसनीय प्रतिभा हुन् । म निश्चित छु, दुवैले लिगमा आफुलाई प्रमाणित गर्नेछन् ।’ गुन्डोगनले भने ।
लिग तालिकामा चेल्सी र म्यान्चेष्टर सिटीको समान २६ अंक छ । यद्धपी सिटीले लण्डन क्लब भन्दा दुई खेल कम खेलेको छ । लिग लिडर लिभरपुलको ३३ अंक छ ।