ला लिगा : रियल र एट्लेटिकोको परिक्षा

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (बुधबार) राति ४ खेल हुदैछ ।
शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड र बराबरी अंकनै जोडेको रियल मड्रिडको परिक्षापनि संगै रहेको छ ।
लिग लिडर एट्लेटिको मड्रिडले गेटाफेलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्र्दा रियल भने इल्चेको भ्रमणमा निस्कनेछ ।
बाँकी दुई खेलमा ग्रानाडा भ्यालेन्सियाको भ्रमणमा निस्कदै गर्दा सेल्टा भिगोले ह्युस्कालाई घरेलु मैदानमा आतिथ्यता दिनेछ ।
उपाधि होडमा रहेको रियल मड्रिडले लगातार ५ खेलमा जित निकालेको छ । सोही क्रमलाई यस वर्षको अन्तिम खेलमा समेत निरन्तरता दिने लक्ष्यमा छ ।
रियलले लिग लिडर एट्लेटिको बराबरको ३२ अंक जोडेको छ । इल्चे भने तालिकाको १६ औं स्थानमा छ । उसले १३ खेलमा १५ अंक जोड्दै रेलिगेशनबाट माथि उक्लिन संघर्ष गरिरहेको छ ।
उत्कृष्ट फर्ममा रहेको रियलले नोभेम्बरको अन्तिमदेखि सेभिया, एट्लेटिको, एथ्लेटिको बिल्बाओ, ईबर र ग्रानाडाविरुद्ध लगातार जित निकालेको छ । रियलले खेलेको १५ मध्य ५ खेलमा अंक गुमाएको छ । च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको रियलले आफुलाई बलियो प्रतिद्धन्दीको रुपमा उभ्याएको छ ।
अर्को खेलमा एट्लेटिकोका फरवार्ड डिएगो कोस्टाले भर्खरै क्लब छाड्ने निर्णय गरेका छन् । तर लिग लिडरलाई कुनै समस्या छैन । लुईस सुआरेज र जोआओ फिलिक्सको जोडी एट्लेटिकोमा खुबै जमेको छ ।
एट्लेटिको यस सिजनको ला लिगाको मुख्य दाबेदार हो । एट्लेटिको बुधबारको खेलमा मुख्य डिफेन्डर किरण ट्रिपरबिनै मैदान उत्रनेछ ।
यता, गेटाफे यस सिजन संघर्ष गरिरहेको क्लब हो । उसले यस सिजन १४ खेलमा मात्र ४ मा जित निकालेको छ । उसले मात्र १२ गोल गरेको छ ।
कार्डिज र सेल्डा भिगोसंग प्राप्त ४ अंकले गेटाफे अहिले सहज अवस्थामा छ । १३ औं स्थानको गेटाफे एट्लेटिकोलाई निराश बनाउँदै अंक तालिकामा सुधार गर्न चाहन्छ ।