प्रिमियर लिगमा दुई ‘हेभिवेट’ खेल

एजेन्सी । प्रिमियर लिग फुटबलमा आज (बुधबार) दुई महत्वपुर्ण खेल हुँदैछन् ।
लिग लिडर लिभरपुल न्युक्यासल युनाईटेडको भ्रमणमा निस्कदाँ टोटनहम हर्टसपरले फुलहमलाई आतिथ्यता प्रदान गर्नेछ ।
शीर्ष स्थानको लिभरपुललाई तालिकामा ५ अंकको अग्रता लिने अवसर प्राप्त छ । घरेलु टोली न्युक्यासलसंग चोटको नयाँ समस्या छैन । तर जोन्जो शेल्बे र रायन फ्रेजर टिम बाहिरै रहनेछन् । एलान सेन्ट म्याक्सिमिन र जमाल लास्केल्स कोरोनाबाट निको हुने चरणमा छन् । तर मार्टिन लिसेस्टर डबरावाका भने लेस्टर सिटीविरद्धको खेलमा मैदान फर्कन सक्ने बताईएको छ ।
वेस्ट ब्रोमविरुद्ध चोट बोकेका जोएल माटिपलाई लिएर लिभरपुल चिन्तित छ । थियागो बुधबारको खेलमा उत्रन सक्नेछन् । लिभरपुलले थियागोका लागि खतरा नमोल्न सक्छ ।
शीर्ष स्थानको लिभरपुलको ३२ अंक छ । न्युक्यासल १८ अंक सहित रेलिगेशन जोन भन्दा तीन स्थान माथि छ ।
अर्को खेलमा लयमा फर्कन संघर्षरत टोटेनहमले रेलिगेशन जोनको फुलहमलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दैछ । वेस्ट लण्डन क्लबमा फैलिएको कोरोनाका कारण खेल स्थगित हुने सम्भावना समेत छ ।
प्रिमियर लिगको पछिल्लो परिक्षण अनुसार नयाँ १८ संक्रमित भेटिएका छन् । जसलाई अहिलेसम्मकै सबैभन्दा बढी संख्या मानिएको छ ।
सेफिल्ड युनाईटेडले समेत पछिल्लो परिक्षणमा धेरै संख्यामा संक्रमित भेटिएको बताएको छ । सोही कारण गत सोमबार मात्र एभर्टन र म्यान्चेष्टर सिटीबीचको खेल स्थगित बनेको थियो ।
टोटेनहम २६ अंक सहित तालिकाको सातौं स्थानमा छ । प्राप्त जितले टोेटेनहमलाई शीर्ष ५ क्लबमा उकाल्ने पक्का छ । फुलहम समेत अप्रत्यासीत नतिजा निकाल्दै रेलिगेशन छाड्न प्रयास गर्नेछ ।