काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज (सोमबार) समूह एका अन्तिम दुई खेल हुदैछन् ।
समूह विजेताको प्रतिस्पर्धाका लागि विभागीय टिम एपीएफ र लुम्बिनी प्रदेश भिड्दैछन् । यस्तै, एक खेल अगावै बाहिरिसकेका कर्णाली र प्रदेश नम्बर दुईले समेत प्रतियोगिताको अन्तिम खेल खेल्दैछन् ।
दाङ्गको लमहीमा पहिलो खेलमा कर्णाली र प्रदेश नम्बर २ भिड्दैछन् । दुवै टिमले यसअघिका दुई खेलका फराकिलो अन्तरको पराजय ब्यहोरेका छन् । प्रतियोगिताबाट बाहिरिसकेका दुवै टिम सोमबारको खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छन् ।
कर्णाली पहिलो खेलमा एपीएफसंग २ सय ४ रनले पराजित बनेको थियो भने दोस्रो खेलमा लुम्बिनीसंग ९ विकेटको हार ब्यहोरेको थियो । रमाईलो पक्ष कर्णालीका कुनैपनि खेलाडीले खेलमा दोहोरो अंकको स्कोर भेट्न सकेका छैनन् ।
अन्तिम खेलमा तुलनात्मक रुपका कमजोर प्रदेश २ विरुद्ध खेलाडीलाई दोहोरो अंकको स्कोर छुने अवसर छ ।
कर्णालीकै जस्तै अवस्था प्रदेश २ को रह्यो । पहिलो खेलमा लुम्बिनीसंग ९ विकेट र दोस्रो खेलमा एपीएफसंग ८ विकेटले पराजित प्रदेश नम्बर २ लाई समेत अन्तिम खेलका जितको अपेक्षामा छ । दुवै टोलीबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । खेलको समय मौसममा धेरै निर्भर छ ।
दोस्रो खेलमा दिउसो सवा १ बजे एपीएफ र लुम्बिनी भिड्नेछन् । अघिल्ला दुई खेलमा शानदार जित निकालेका दुई टोलीबीचको नतिजाले समूह विजेता टोलीको टुङ्गो लगाउनेछन । एक खेल अगावै सेमिफाईनल पुगिसकेका दुवै टोलीले समान ४ अंक बटुलेका छन् ।
एपीएफको कप्तान सिता राना मगरले गर्नेछिन् ।
यसअघिका दुवै खेलमा उनी प्लेयर अफ दी म्याच चुनिएकी थिईन् । लुम्बिनी नेरी थापाको कप्तानीमा मैदान उत्रनेछ ।