एजेन्सी । सिरि ए फुटबलमा युभेन्ट्सले एटलान्टासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
बुधबार राति घरेलु मैदानमा रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सले बराबरी खेल्दै अंक बाँड्न परेको हो ।
युभेन्ट्सले सिरि ए फुटबलको यस सिजनका १२ खेल मध्य ६ खेलमा बराबरी खेलेको छ । फेडरिको चियासाले साविक विजेता युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । युभेन्ट्सका लागि उनले पहिलो लिग गोल गरेका हुन् ।
रिमो फ्रियुरले तालिकाको मध्य भागमा रहेको एटलान्टाका लागि बराबरी गोल फर्काएका थिए ।
चियासालाई डिबक्सभित्र लडाएपछि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो । रोनाल्डोलाई पेनाल्टी सफल बनाउँदै खेल जित्ने अवसर समेत थियो । तर पियरलिगी गोलिनीले रोनाल्डोको प्रहारको सही अनुमान लगाए ।

एस्टन भिल्लाका पूर्व गोलकिपरले रोनाल्डोको पेनाल्टी बचाउ गर्दै अल्भारो मोराटालाई समेत निराश बनाए ।
सिरि ए फुटबलका पछिल्ला नौं लिग उपाधि जितेको युभेन्ट्स लिगका १२ खेलमा अपराजित छ ।
युभेन्ट्स तालिकाको तेस्रो स्थानमा रहेको छ । र शीर्ष स्थानको एसी मिलान भन्दा चार अंकले पछि छ ।
बुधबारनै भएको अर्को खेलमा शीर्ष स्थानका एसी मिलानलाई हार टार्न ८३ औं मिनेटमा पियरे कलुलुको गोलको आवश्यकता परेको थियो । सिरि एमा अपराजित मिलानले जेनोआसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
घरेलु टोलीका माटिया डेस्ट्रोलले जेनोआलाई दुई पटक अग्रता दिलाएका थिए । एसी मिलानका लागि डेविड केलब्रियाले पहिलो बराबरी गोल फर्काएका थिए ।
अर्को खेलमा रोमेलु लुकाकुको पेनाल्टी गोलको सहयोगमा ईन्टर मिलानले नापोलीलाई १–० ले हराएको छ । सो खेलमा लोरेन्जो इन्सिग्ने रातो कार्ड मैदान बाहिरिएका थिए ।
म्यान्चेष्टर युनाईटेडका पूर्व खेलाडी लुकाकु १० गोल गर्दै रोनाल्डो र ज्लाटन ईब्राहिमोभिचसंग सर्वाधिक गोलकर्ताको दौडमा मिसिएका छन् ।