एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले फरवार्ड करिम बेन्जिमालाई फ्रेन्च फुटबलको सर्वकालिन उत्कृष्ट फरवार्डको रुपमा प्रशंसा गरेका छन ।
ला लिगामा एथ्लेटिको बिल्बाओविरुद्ध प्राप्त जितमा दुई गोल गरेका बेन्जिमालाई फ्रान्सेली प्रशिक्षकले उत्कृष्ट फरवार्डको रुपमा ब्याख्या गरेका हुन् ।
पहिलो हाफमा रियल मड्रिडले टोनी क्रुसको गोलमा अग्रता लिएको थियो । १० खेलाडीमा सिमित बिल्बाआका एन्डर किपाले बराबरी गोल फर्काएका थिए । त्यसपछि रियलका लागि बेन्जिमाले दुई गोल गर्दै शीर्ष क्लबमा उकाल्न सहयोग गरेका थिए ।

‘उनी उत्कृष्ट छन् ।’ जिदानले भने, ‘खेल निकै राम्रो बन्यो । उनले पुन दुई गोल गरे । उनले सधै देखाएका छन्, उनी कस्तो महान खेलाडी हुन भनेर ।’
‘आफुले के गरिरहेको छु भनेर उनले देखाएका छन् । उनले रियल मड्रिडका लागि लामो समय खेलेका छन् । उनले ५ सय बढी खेल खेलेका छन् । उनको गोल, उपाधिले सबै कुरा देखाएको छ ।’ जिदानले भने, ‘मेरा लागि उनी उत्कृष्ट छन् । यो स्पष्ट छ ।’
बेन्जिमा सन् २००९ मा रियल मड्रिडसंग जोडिएका थिए । उनी फ्रेन्च क्लब लियोनबाट रियल आएका हुन् ।
उनले रियलबाट चार च्याम्पियन्स लिग र तीन ला लिगा उपाधि जितेका छन् । तर लामो समय उनी गोल विहिन हुँदा रियलमा आलोचित समेत बनेका थिए ।

‘उनी विशुद्ध रुपमा नम्बर ९ हैनन्, गोलको बारेमा मात्र सोचुन् ।’ जिदानले भने, ‘सोही कारण म उनलाई प्रेम गर्छु । उनको दिमागमा एक चिजमात्र छैन । उनले टिमका साथीलाई समेत सहयोग गर्छन् । त्यो फुटबल मलाई मन पर्छ । उनीसंग दुवै चिज छ ।’
जिदानको टिमले लगातार चार खेलमा जित निकालेको छ । रियलले पछिल्लो खेलमा एट्लेटिको मड्रिड, बोरुसिया मोन्चेनग्लाडवाच र सेभियालाई पराजित गरेको छ ।
ला लिगामा प्राप्त तीन अंकले रियलले शीर्ष स्थानका रियल सोसिडाड र एट्लेटिको मड्रिडसंग अंक बराबरी गरेको छ ।
‘यो खेल हाम्रो लागि निकै महत्वपूर्ण रह्यो ।’ बेन्जिमाले भने, ‘हामी सही बाटोमा छौ । जब हामी यस अवस्थामा हुन्छौ, सबै चिज राम्रो तरिकाले अघि बढ्छ ।’