एजेन्सी । जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमण्डले वेर्डरलाई हराएको छ ।
मंगलबार राति वेर्डरको घरेलु मैदानमा डर्टमण्डले २–१ को जित निकालेको हो ।
डर्टमण्डले अन्तरिम प्रशिक्षक एडिन टेरजिकको नेतृत्वमा पहिलो खेलमै जित निकालेको हो ।
लगातारको खराब नजिताबाट पिरोलिएको डर्टमण्डले मुख्य प्रशिक्षक लुसियन फेवरेलाई बर्खास्त गरेको थियो । त्यसपछि टिमको नेतृत्व पूर्व सहायक प्रशिक्षक टेरजिकलाई दिईएको थियो ।

खेलमा सुरुवाती अग्रता राफेल गुएरेरोको गोलमा डर्टमण्डले लिएको थियो । केवन मोहेवल्डले २८ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । मार्को रिउसले खेल सकिन ११ मिनेट अघि डर्टमण्डका लागि विजयी गोल गरे ।

मुख्य फरवार्ड ईर्लिङ हालाण्ड घाईते भएपछि डर्टमण्डले युवा स्टार यूसुफो मौकोकोलाई सुरुवाती लाईन अपमा मौका दिएको थियो ।
गत महिनामात्र बुन्डेसलिगामा डेब्यु गरेको उनी जर्मनीमा ब्यवसायीक फुटबल खेल्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमान बनाएका छन् ।
जितसंगै डर्टमण्ड २२ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । डर्टमण्ड शीर्ष स्थानको बायर लिभरकुसन भन्दा तीन अंकले मात्र पछि छ । वेर्डर १३ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।
मंगलबार रातिनै भएका अन्य तीन खेल बराबरीमा टुङ्गिए ।
हेर्थ वर्लिनले मेन्जसंग गोल रहित बराबरी खेल्दा फ्राङ्कफुर्टले बोरुसिया मोन्चेनग्लाडवाचसंग ३–३ गोलको र स्टटगार्टले युनियन वर्लिनसंग २–२ गोलको बराबरी खेल्दै अक बाँड्यो ।