एजेन्सी । स्पेनिस लिगको मड्रिड डर्बीमा रियलले जित निकालेको छ ।
शनिबार राति रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
साविक विजेता रियलले एट्लेटिकोलाई यस सिजनको पहिलो हार चखाएको हो ।

शीर्ष स्थानको एट्लेटिकोलाई पराजित गर्दै रियलले शीर्ष क्लबसंगको दुरी ३ अंकमा झारेको छ ।
खेलको १५ औं मिनेटमा क्यासमिरोले हेडमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । टोनी क्रुसको पासलाई सदुपयोग गर्दै ब्राजिली स्टारले गोल गरेका थिए ।
ड्यानी कार्भाजलले दोस्रो हाफमा प्रहार गरेको बल गोलकिपर जान ओबलाकसंग ठोक्किदै पोस्टभित्र छिरेपछि रियल २–० ले खेलमा अघि बढेको थियो ।
जितसंगै रियल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एट्लेटिको दोस्रो स्थानको रियल सोसिडाड भन्दा मात्र एक अंकले माथि छ ।

दुवै टिमले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा आफुलाई सुरक्षित गरेका छन् ।
रियलले समूह बीको खेलमा बोरुसिया मोन्चेनग्लाडवाचलाई पराजित गर्दै समूह विजेतको रुपमा नकआउट चरण प्रवेश गर्यो । अर्को खेलमा एट्लेटिको मड्रिडले आरबी साल्जवर्गलाई हराउँदै अन्तिम १६ को यात्रा तय गरेको हो ।
ला लिगामा डिएगो सिमोन नेतृत्वको एट्लेटिकोले ७ खेलमा लगातार जित निकालेका थिए । तर रियलको भ्रमणसंगै एट्लेटिकोको अपराजित यात्रामा समेत पूर्ण विराम लागेको छ ।