एजेन्सी । जर्मन बुन्डेशलिगामा उपाधि दाबेदार मानिएको बोरुसिया डर्टमण्डले नवप्रवेशी क्लब भीएफबी स्टटगार्टसंग लज्जास्पद हार ब्यहोरेको छ ।
शनिबार घरेलु मैदानमा डर्टमण्ड यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको क्लबसंग ५–१ गोल अन्तरले पराजित बनेको हो ।
२६ औं मिनेटमा सिलास वामानगितुका फुन्डुले पेनाल्टीमा गोल गर्दै स्टटगार्टलाई अघि बढाएका थिए ।
जियोवन्नी रेयनाले ३९ औं मिनेटमा डर्टमण्डका लागि बराबरी गोल फर्काएका थिए ।
दोस्रो हाफमा ४ गोल गर्दै पाहुना टोलीले डर्टमण्डविरुद्ध अप्रत्यासीत नतिजा आत्मसाथ गरेको हो ।

सिलास वामनगितुकाले ५३ औं मिनेटमा स्टटगार्टलाई २–१ ले अघि बढाए । फिलिप फोस्टरले ६० औं मिनेटमा पाहुना टोलीको अग्रतालाई ३–१ को अवस्थामा पुर्याए ।
त्यसको तीन मिनेटमा तन्गी कोलीबालले स्टटगार्टका लागि एक गोल थपे । ईन्जुरी समयमा निकोलस गोन्जालेजले गोल गर्दै नवप्रवेशी क्लबलाई ५–१ को शानदार जित दिलाए ।
पराजयले डर्टमण्डलाई तालिकाको पाँचौ स्थानमा राखेको छ । डर्टमण्ड शीर्ष स्थानको आरबी लाईपेजिगसंग ५ अंकले पछि परेको छ ।
डर्टमण्डले गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । उसले पछिल्ला ५ खेलमा मात्र १ मा जित निकालेको छ ।
डर्टमण्डले च्याम्पियन्स लिगमा नकआउट चरणको यात्रा तय गरेको छ । तर ईर्लिङ हालाण्ड चोटले अनुपस्थित रहदा डर्टमण्डले पछिल्ला तीन खेलमा मात्र एक अंक जोडेको छ ।
जित सहित स्टटगार्ट १७ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।