एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) राति चार खेल हुँदैछ ।
मुख्य रुपमा म्याचेष्टर डर्बीको खेलले सबैको ध्यान खिचेको छ । युनाईटेडले म्यान्चेष्टर डर्बीमा सिटीलाई आतिथ्यता प्रदान गर्दैछ ।
च्याम्पियन्स लिगबाट बाहिरिएको युनाईटेडले घरेलु मैदानमा सिटीलाई आमन्त्रण गर्न लागेको हो ।
च्याम्पियन्स लिग गुमाएका एन्थोनी मार्टियल चोट मुक्त हुँदै युनाईटेडको जर्सीमा मैदान फर्कनेछन् । उनले सामान्य चोटका कारण च्याम्पियन्स लिगमा आरबी आईपेजिगविरुद्धको खेल गुमाएका थिए । सो खेलमा भ्रमण गर्न नपाएका ईडिन्सन काभानी समेत म्यान्चेष्टर डर्बीमा उपलब्ध हुनेछन् ।
म्यान्चेष्टर सिटीका सर्जियो अग्युरोले बेन्चबाट मैदान देखिन सक्नेछन् । चोट मुक्त हुँदै मैदान फर्किएको खेलमा अग्युरोले युरोपा लिगमा गोल गरेका थिए ।
ईरिक गर्सिया सिटीको टिमबाट बाहिर हुुँदा इल्के गुन्डोगान ईतिहाद क्लबको टिममा फर्कनेछन् ।
युनाईटेड १९ अंक सहित तालिकाको सातौं स्थानमा छ । सिटी १८ अंक सहित आठौं स्थानमा छ ।
शनिबारै राति हुने अन्य खेलमा उल्भ्सले एस्टन भिल्लालाई आमन्त्रण गर्दा न्युक्यासल वेस्ट ब्रुमको भ्रमणमा निस्कनेछ । घरेलु टोली वेस्ट ब्रुमलाई जित निकाल्दै रेलिगेशन क्षेत्र छाड्ने अवसर समेत छ ।
अर्को महत्वपूर्ण खेलमा लण्डन क्लब चेल्सी एभर्टनको भ्रमणमा निस्कनेछ । चेल्सीलाई कम्तिमा २४ घण्टा प्रिमियर लिगको शीर्ष स्थानमा पुन उक्लिने अवसर छ । चेल्सी २२ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।
प्रिमियर लिगमा शानदार सुरुवात गरेको एभर्टनले चेल्सीलाई दुख दिन सक्नेछ । मुख्य मिडफिल्डर जेम्स रोड्रिग्वेज टिम बाहिर रहँदा एभर्टनलाई समस्या पर्न सक्छ ।
तर उत्कृष्ट लयमा रहेको चेल्सीलाई रोक्न एभर्टनलाई सजिलो हुने छैन । विङ्गर क्रिस्टियन पुलिसिकको आगमनले चेल्सी थप उत्साहीत छ । हाकिम जियाच र हडसन ओडोई दुई साताका लागि टिम बाहिर हुनेछन् ।