एजेन्सी । ज्लाटन ईब्राहिमोभिचले तत्काल फुटबलबाट टाढा जाने कुनै योजना नभएको बताएका छन् ।
उनले आफु अझै सफलताको भोको रहेको उल्लेख गर्दै फुटबलबाट टाढा जाने कुनै योजना नभएको उल्लेख गरे ।
३९ वर्षिया फरवार्ड सिरि ए क्लब एसी मिलानका सर्वाधिक गोलकर्ताको रुपमा रहेका छन् । उनी क्रिस्टियानो रोनाल्डो र रोमेलु लुकाकु भन्दा गोलकर्ताको दौडमा अघि छन् । उनले ८ लिग खेलमा १० गोल गरेका छन् ।
स्विडेनका पूर्व अन्तराष्ट्रिय खेलाडी ईब्राहिमोभिचले दुई दशक भन्दा बढीको करियरमा सात विभिन्न देशबाट शीर्ष डिभिजनको लिग खेलेका छन् ।
‘म यि चिजहरु गर्न नसक्दा सम्म जारी राख्नेछु ।’ उनले बीबीसी स्पोर्टलाई भनेका छन् ।
‘मैले शारीरिक रुपमा आफुलाई राम्रो राख्नुपर्छ र बाँकी आफैले समाधान गर्नेछ ।’ उनले थपे ।

एसी मिलान सिरि एको शीर्ष स्थानमा छ । मिलान क्लब पछिल्ला १० खेलमा अपराजित छ । उसले शहरी प्रतिद्धन्दी ईन्टरसंग ५ अंकको अग्रता लिएको छ ।
‘हामी अविश्वसनीय लयमा छौ । हामीले राम्रो गरिरहेका छौ ।’ उनले भने ।
कोरोना भाईरसबाट संक्रमित भएपछि ज्लाटनले सिरि एका दुई खेल गुमाएका थिए ।
‘तर हामीले अहिलेसम्म केही जित्न सकेका छैनौ । हामीले त्यो दिमागमा राख्न आवश्यक छ ।’ ज्लाटनले भने ।
ईब्राहिमोभिचले आफ्नो दोस्रो पटकको मिलान यात्रा दशक अघि भन्दा निकै फरक रहेको बताए । पछिल्लो सिजन मिलानले छैटौ स्थानमा रहदै लिगको अन्त्य गरेको थियो ।
‘पहिलो पटक म मिलान आउँदा क्लब उपाधिका लागि प्रतिस्पर्धा गरिरहेको थियो । दोस्रो पटक क्लबलाई माथि ल्याउने अवस्थामा आएको हुँ ।’ उनले भने ।
‘यो फरक चुनौती हो । जुन चुनौती मलाई मन पर्छ । किनकी जब उनीहरुले यसलाई निकै कठिन भने र यो असम्भव भने, त्यसकारण म यहाँ आएको हुँ । यही स्थानमा म आफुलाई जिवित महशुश गर्छु ।’ ज्लाटन भन्छन् ।