काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ईस्तानबुल बासाकेशिरलाई पराजित गरेको छ ।
बुधबार भएको खेलमा पीएसजीले ईस्तानबुल क्लबलाई ५–१ गोल अन्तरले हराएको हो ।
पीएसजीको जितमा नेयमारले ह्याट्रिक गरे । थप दुई गोल केलियन एम्बाप्पेको नाममा रह्यो ।
नेयमारले २१ औं मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए ।
केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै ३८ औं मिनेटमा नेयमारले अग्रता दोब्बर बनाए ।
पहिलो हाफ सकिन तीन मिनेट अघि एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाएका थिए ।

नेयमारले खेलको ५० औं गोल गर्दै ह्याट्रिक पुरा गरे । एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै नेयमारले ह्याट्रिक पुरा गरेका थिए ।
पाहुना टोली ईस्तानबुलका टोपालले ५७ औं मिनेटमा गोल गर्दै अन्तर घटाउने प्रयास गरेका थिए । एम्बाप्पले डी मारियाको पासमा ६२ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे ।

पीएसजी र ईस्ताबुलको खेल नतिजा भन्दा पनि अन्य कारणले चर्चामा रह्यो । मंगलबार राति खेल्ने तय भएको खेल ईस्तानबुलका अफिसियललाई रेफ्रीले रंगभेदी व्यवहार गर्दा रद्ध हुन पुगेको थियो । सोही कारण दुवै टिमका खेलाडीले मैदान छाडेका थिए ।
जित सहित पीएसजी समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो । म्यान्चेष्टर युनाईटेडलाई हराएर नकआउट चरणमा पुगेको आरबी लाईपेजिग समूह उपविजेता बन्यो ।
समूह चरणका खेल सकिदा शीर्ष स्थानको पीएसजी र लाईपेजिगले समान १२ अंक बटुले । युनाईटेड ९ अंकमा सिमित रह्यो । ईस्तानबुल ३ अंक सहित पुछारमा रह्यो ।