एजेन्सी । सर्जियो अग्युरोले गोल सहित च्याम्पियन्स लिग फुटबलमा पुनरागमन गरेका छन् ।
बुधबार राति सिटीले मार्सेलीलाई ३–० ले पराजित गरेको खेलमा अग्युरोले समेत गोल गरे ।
उनी घुँडाको चोटका कारण लामो समय मैदान बाहिर थिए । उनले चोटकै कारण च्याम्पियन्स लिगका पछिल्ला तीन खेल गुमाएका थिए । तर बेन्चबाट मैदान छिरेको १० मिनेटमै उनले गोल गर्न सफल भए ।
फेरान टोरेसले ईतिहाद क्लबलाई दिलाएको अग्रतालाई अग्युरोले दोब्बर बनाएका थिए । अल्भारो गोन्जालेजले आत्मघाति गोल गरेपछि सिटीले मार्सेलीविरुद्ध सहज जित आत्मसाथ गर्यो ।
सिटी यसअघिनै समूह विजेतको रुपमा नकआउट चरण प्रवेश गरेको थियो ।
चोटकै कारण अग्युरोले यस सिजन ५ खेलमा मात्र मैदान उत्रन पाए । प्रशिक्षक पेप ग्वार्डीओलाले शनिबार म्यान्चेष्टर डर्बीमा अग्युरोले सुरुवातमै रहेर मैदान नउत्रने बताए ।
अग्युरोले च्याम्पियन्स लिगमा ४१ गोल पुरा गरे । उनले ब्राजिली स्टार नेयमारको गोल संख्या बराबरी गरेका छन् ।
सोही समूहको अर्को खेलमा पोर्चुगलको पोर्टोले ओलम्पियाकोसलाई २–० ले हरायो । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै पोर्टो समेत समुह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्यो ।
समूह चरणको खेल सकिदा सिटी १६ अंक सहित शीर्ष स्थानमा रह्यो । पोर्टो १३ अंक सहित उपविजेता बन्यो । नकआउट चरण पुग्न नसकेका ओलम्पियाकोस र मार्सेलीले समान ३ अंक जोडे ।