एजेन्सी । एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
बुधबार राति साल्जबर्गलाई २–० ले पराजित गर्दै एट्लेटिको नकआउट चरण प्रवेश गरेको हो ।
मारियो हर्मोसोले एट्लेटिकोलाई दिलाएको अग्रतालाई फ्रि–किक मार्फत यानिक कारासकोले दोब्बर बनाएका थिए ।
मार्गिम बेरिशाको प्रहार साल्जबर्गको पोस्टमा लागेको थियो । स्पेनिस क्लबलाई नकआउट चरण प्रवेश गर्न जितको अवाश्यकता थियो ।
जितसहित एट्लेटिको नकआउट चरण प्रवेश गर्यो ।

सोही समूहको अर्को खेलमा बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई २–० ले हरायो । बायर्न समूह विजेतको रुपमा यसअघिनै अन्तिम १६ मा प्रवेश गरेको थियो ।
बायर्नको जितमा निकलेस सुएले र एरिक मक्सिम चौप मोटिङ्गले एक एक गोल गरे ।
बायर्नले प्रतियोगितामा आफ्नो अपाराजित यात्रालाई १७ खेलसम्म पुर्याएको छ । उसले लगातार ११ खेलमा जित निकालेको थियो । साविक विजेता बायर्नले यस सिजन समेत समूह चरणमा मात्र एक खेलमा बराबरी खेल्यो ।
समूह विजेताको रुपमा बायर्न १६ अंक सहित नकआउट चरण पुग्यो । एट्लेटिको ९ अंक सहित दोस्रो स्थानमा रहदै नकआउट पुग्ने अर्को टोली बन्यो ।
साल्जबर्ग ४ र मस्को ३ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिए ।