एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) राति ९ खेल हुदैछ ।
प्रतियोगिता अन्तर्गत बुधबार समूह ए, बी, सी र डीका समान दुई तथा समूह एचको एक खेल हुनेछ ।
बुधबार सबैको नजर समूह बीको रियल मड्रिडको नतिजामा अडिएको छ । घरेलु लिगसंगै युरोपमा समेत राम्रो प्रर्दशन गर्न नसकिरहेको रियल प्रतियोगिताबाट बाहिरिने खतरा छ । समूह बीमा इन्टर मिलान र शख्तर डोनेस्क तथा रियल मड्रिड र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा हुदैछ । समूह बीका चारै वटा टोलीको नकआउट चरण पुग्ने गणितिय सम्भावना जिवित छ ।
तर नकआउट चरण पुग्न रियल मड्रिडलाई जितको विकल्प छैन । मोन्चेनग्लाडवाचलाई बराबरीको नतिजाले मात्र अन्तिम ६ मा पुर्याउन सक्छ । समूह बीमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाच ८ अंक सहित शीर्ष स्थानमा, शख्तर ७ अंक सहित दोस्रो, रियल ७ अंक सहित तेस्रो र ईन्टर ५ अंक सहित चौथो स्थानमा छ ।

यस्तै, समूह एको खेलमा बायर्न म्युनिख र लोकोमोटिभ मस्को तथा साल्जबर्ग र एट्लेटिको मड्रिड भिड्दैछन् । बायर्न समूह विजेताको रुपमा यसअघिनै नकआउट चरण पुगिसकेको छ । मंगलबारको खेलले एट्लेटिको र साल्जबर्गको भाग्य निर्धारण गर्नेछ । एट्लेटिकोलाई नकआउट पुग्न बराबरीको नतिजानै पर्याप्त हुनेछ भने साल्जबर्गलाई जितको विकल्प छैन । शीर्ष स्थानको बायर्नको १३ अंक छ । दोस्रो एट्लेटिकोको ६, तेस्रो साल्जबर्गको ४ र मस्को क्लब ३ अंक सहित पुछारमा छ ।
यता, समूह सीको खेलमा म्यान्चेष्टर सिटी र मार्सेली तथा पोर्टो र ओलम्पियाकोसबीच प्रतिस्पर्धा हुनेछ । सिटी समूह विजेता र पोर्टो उपविजेताको रुपमा नकआउट चरण पुगिसकेका छन् । मंगलबारको खेलमा दुवै टोली समूह चरणको सुखद अन्त्य गर्ने मात्र रहनेछ ।

उता, समूह डीको खेलमा डच क्लब अजाक्स र एटलान्टा तथा लिभरपुल र एफसी मिडजिल्याण्ड भिड्नेछन् ।
प्रिमियर लिग विजेता लिभरपुल यसअघिनै समूह विजेताको रुपमा नकआउट चरण पुगिसकेको छ । बुधबारको खेलको नतिजाले लिभरपुललाई केही फरक पार्ने छैन । तर अजाक्स र एटलान्टाको खेलको नतिजा समूहका लागि महत्वपूर्ण छ । एटलान्टा ८ अंक सहित दोस्रो र अजाक्स ७ अंक सहित तेस्रो स्थानमा छ । एटलान्टालाई नकआउट चरण पुग्न बराबरीनै पर्याप्त छ । डच क्लबलाई भने जितको विकल्प छैन ।
अर्को एक खेलमा खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र इस्तानबुल बासाकेशिर भिड्ने छन् । समूह एचको खेल मंगलबार रातिका लागि तय थियो । तर ईस्तानबुलको टिममाथि रेफ्रीले रंगभेद गरेपछि खेलाडीले मैदान छाडेका थिए । त्यसपछि खेल स्थगित बनेको थियो । समूह एचमा मंगलबार म्यान्चेष्टर युनाईटेडलाई पराजित गर्दै आरबी आईपेजिग नकआउट चरण प्रवेश गरेको छ । युनाईटेड समूह चरणबाटै बाहिरिएको छ ।