एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा चेल्सीले सेभियालाई ४–० गोल अन्तरले पराजित गरेको छ ।
बुधबार भएको समूह ईको खेलमा लण्डन क्लब चेल्सीले स्पेनको सेभियाविरुद्ध सहज जित निकालेको हो ।
चेल्सीको जितमा ओलिभर जिराउड एक्लैले चार गोल गरे ।
खेलको आठौं मिनेटमा काई हभाटर््जको पासमा लण्डन क्लबलाई अघि बढाएका जिराउडले दोस्रो हाफमा थप तीन गोल गरेका थिए ।

कोभासिसको पासमा ५४ औं मिनेटमा चेल्सीको अग्रता दोब्बर बनाएका जिराउडले ७४ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । कान्टेको पासलाई सदुपयोग गर्दै जिराउडले तेस्रो गोल गरे । उनले खेल सकिन ७ मिनेट अघि पेनाल्टीमा गोल गर्दै चेल्सीलाई शानदार जित दिलाए ।
जितसंगै चेल्सी समूह ईबाट समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्ने पक्का बन्यो । चेल्सीले प्रिमियर लिगको आईतबारको खेलमा टोटेनहमसंग गोल रहित बराबरी खेलेको थियो । सो खेलका ९ खेलाडीलाई बुधबारको खेलमा परिवर्तन गरिएको थियो ।

हभार्ट्ज र क्रिस्टियन पुलिसिकले सुरुवातमा रहेर लण्डन क्लबबाट मैदान उत्रिएका थिए ।
सेभियाले समेत नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ । समूहको शीर्ष क्लब चेल्सीको १३ अंक छ । दोस्रो सेभियाको १० अंक छ ।