एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ ।
शनिबार राति भएको खेलमा रियल मड्रिड घरेलु मैदानमा डिपोर्टिभो अलाभेससँग २-१ गोल अन्तरले पराजित भएको हो ।
रियलको मैदानमा खेलको पाँचौ मिनेटमा लुकास परेजले पेनाल्टीमा गोल गर्दै अलाभेसलाई अग्रता दिलाएका थिए ।
खेलको ४९ औं मिनेटमा जोसेलुले गोल गर्दा अलाभेस २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा कासिमिरोले एक गोल फर्काए पनि रियल २-१ ले पराजित भयो ।
यस्तै अलाभेसविरुद्धको खेलमा रियलका इडेन हाजार्डले चोट बोकेका छन् । चोटका कारण उनी २८ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

घरेलु मैदानमा हार व्यहोरेसँगै रियल लिगको शीर्ष ३ मा उक्लन असफल भएको छ ।
रियल १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
अलाभेस १३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।
अर्को खेलमा सेभियाले हुएस्कालाई १-० ले पराजित गरेको छ ।
