काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्वारेन्टिनमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई रिलिज गरेको छ ।
एन्फाले मंगलबार क्वारेन्टिनमा रहेका २५ खेलाडीलाई रिलिज गरिएको जनाएको छ ।
बंगलादेशसँगको दुई अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेलेर स्वदेश फर्किएपछि नेपाली टिम एन्फाको होस्टेलमा क्वारेन्टिनमा बसेका थिए ।
नेपालले गत कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेल बराबरीमा रोकिएको थियो ।
नेपाली टिम बिहीबार स्वदेश फर्किएका थिए । नेपाली टिमको सोमबार कोरोना परिक्षण गरिएको थियो ।
मंगलबार खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएपछि एन्फाले खेलाडीलाई रिलिज गरेको हो ।
एन्फाले खेलाडीलाई १५ दिनका लागि रिलिज गरेको हो ।
१५ दिनको विश्रामपछि खेलाडी प्रशिक्षणमा फर्किने छन् ।