काठमाडौं । बंगलादेशसँगको दुई अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेलेर स्वदेश फर्किएका राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
बंगलादेशबाट फर्किएपछि गरिएको खेलाडीको परिक्षण रिपोर्ट मंगलबार नेगेटिभ आएको हो ।
नेपाली टिम गत बिहीबार स्वदेश फर्किएका थिए । नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्याय भने कोरोना संक्रमित भएपछि ढाकामै रहेका छन् ।
स्वदेश फर्किएपछि नेपाली टिम अखिल नेपाल फुटबल संघ (एन्फा) को होस्टलमा क्वारेन्टिन बसेका थिए ।
खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै एन्फाले खेलाडीलाई केहि दिनको विश्राम दिने भएको छ ।
केहि दिनको विश्रामपछि नेपाली टिमले प्रशिक्षण थाल्ने छन्।
नेपालले गत कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेल बराबरीमा रोकिएको थियो ।