एजेन्सी । इर्लिङ हालाण्डले चार गोल गरेको खेलमा बोरुसिया डर्टमण्डले बुन्डेसलिगामा शानदार जित निकालेको छ ।
शनिबार भएको खेलमा हालाण्ड प्रेरित डर्टमण्डले घरेलु टोली हेर्था बर्लिनलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
हालाण्डले यस सिजन देश र क्लबका लागि १७ खेलमा २१ गोल गरेका छन् ।
हालाण्डले १५ मिनेटका अन्तरमा ह्याट्रिक गर्दै डर्टमण्डलाई सहज अवस्थामा पुर्याएका थिए ।
डर्टमण्डले जितसंगै शीर्ष स्थानको बायर्न म्युनिखसंग अंक दुरी घटाएको छ ।
शनिबारमात्रै बायर्नले भेरडाआ ब्रेमेनसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।
राफेल गुएरेइरोले डर्टमण्डका लागि एक गोल थपेका थिए ।
ब्राजिली विङ्गर म्याथुस कुन्हाले हर्थाका लागि दुवै हाफमा एक एक गोल गरेका थिए ।

डर्टमण्डका प्रशिक्षक लुसिएन फेवरेले यूसुफ मौकोकोलाई सिनियर टिमबाट डेब्यु गराएका थिए । डर्टमण्डका भविष्यका स्टार मानिएका मौकोकोले १६ वर्ष पार गरेपछि सिनियर टिमबाट डेब्युको अवसर पाएका हुन् ।
उनी जर्मन क्लब फुटबलका नयाँ आकर्षक हुन् । उनी जर्मन क्लब फुटबलमा सिनियर टिमबाट व्यवसायीक फुटबल खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।
क्यामरुनमा जन्मिएका जर्मनका युवा खेलाडी मौकोकोले क्लबको युथ टिमबाट ८८ खेलमा १ सय ४१ गोल गर्दै सबैको ध्यान खिचेका थिए । त्यसैले उनी जर्मनको क्लब फुटबलमा भविष्यका ठुला स्टार मानिएका छन् ।
उनलाई अन्तिम ५ मिनेट प्रशिक्षकले वैकल्पिक खेलाडीको रुपमा मैदान छिराएका थिए । निकै लयमा देखिएका डर्टमण्डका स्टार हालाण्डले भने पछिल्ला ६ खेलमा १० गोल गरेका छन् ।

अन्तराष्ट्रिय बिश्राम अघि डर्टमण्डले बायर्न म्युनिखसंग ३–२ को हार ब्यहोरेको थियो ।
डर्टमण्डले शनिबार राति शानदार जित सहित शीर्ष स्थानको बायर्नमाथि दबाब बढाएको छ । बायर्न १९ अंक सहित शीर्ष स्थानमा छ । डर्टमण्ड १८ अंक सहित दोस्रो स्थानमा छ ।
डर्टमण्ड मंगलबार च्याम्पियन्स लिगको खेलमा मैदान उत्रदैछ । उसले घरेलु मैदानमा क्लब ब्रुगिसलाई आतिथ्यता प्रदान गर्दैछ ।