एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई हराएको छ ।
शनिबार राति घरेलु मैदानमा डिएगो सिमोन नेतृत्वको एट्लेटिकोले बार्सिलोनालाई १–० ले हराएको हो ।
एट्लेटिकोको जितमा पहिलो हाफको इन्जुरी समयमा इानिक कारास्कोले विजयी गोल गरेका थिए ।

एट्लेटिको जित सहित शीर्ष स्थानको रियल सोसिडाडसंग अंक बराबरी गरेको छ ।
शीर्ष क्लब सोसिडाड र एट्लेटिकोको समान २० अंक छ । एट्लेटिकोले बार्सिलोनासंग ९ अंकको अग्रता समेत लिएको छ । बार्सिलोना ११ अंक सहित तालिकाको दशौं स्थानमा छ ।
बार्सिलोनाका लागि शनिबार रात खराब रह्यो । उसले चोटका कारण डिफेन्डर जेरार्ड पीकेलाई गुमाएको थियो । उनी करिब ६ महिना मैदान बाहिर रहन सक्ने अनुमान गरिएको छ ।
बार्सिलोनालाई एट्लेटिकोसंग अंक खोस्न निकै कठिन देखिएको थियो । पाहुना टोली बार्सिलोनाका क्लेमेन्ट लेन्गलेटको हेड बललाई गोलकिपर जान ओब्लाकले बचाएका थिए ।

बार्सिलोनाविरुद्ध जित निकालेको एट्लेटिको नयाँ सिजनमा अपराजित छ । उसले सबै प्रतियोगिताका २४ खेलमा अपराजित यात्रालाई कायम राखेको छ । ला लिगाका ८ खेलमा बार्सिलोनाले तेस्रो हार ब्यहोरेको छ ।