काठमाडौं । लामो समय राष्ट्रिय टिम बाहिर रहेका स्ट्राइकर विमल घर्ति मगर, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई बन्द प्रशिक्षणमा बोलाईने भएको छ ।
नेपाली टिमका कार्यकारी मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले टोलीको प्रशिक्षणमा विमलसहित तीन खेलाडीलाई बोलाईने खेलपाटीलाई जानकारी गराए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासनको कारबाहीमा परेका विमलसहित तीनै खेलाडी लामो समयबाट राष्ट्रिय टिम बाहिर रहदै आएका छन् ।
टिममा रहेका खेलाडी चोटग्रस्त हुनु र कोरोना संक्रमणले कतिपय खेलाडी टिम बाहिर रहेका कारण उनीहरुलाई प्रशिक्षणमा बोलाउन लागिएको मुख्य प्रशिक्षक महर्जनले जानकारी गराए ।
‘अबको तयारीका लागि थप खेलाडी बोलाउँछौं । थप खेलाडी निकैनै आवश्यक छ । कोरोना संक्रमण होला या नहोला । टिममा आवश्यक रहेको खेलाडीलाई बोलाउँछौं,’ मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितीमा टिमको नेतृत्व गरिरहेका महर्जनले भने ।
प्रशिक्षक महर्जनले तीन खेलाडीसहित आवश्यक पोजिसनमा थप खेलाडी समेत प्रशिक्षणका लागि डाकिने बताए ।
‘संक्रमणका कारण यस अघि खेलाडी अपुग भयो । पोजिसनका खेलाडी गुमाउनु पर्याे । यस पटक बाहिर रहेका तीन खेलाडी सहित आवश्यक पोजिसनका खेलाडीलाई बोलाउने तयारी गरेको छु । जुन आवश्यक पनि छ,’ प्रशिक्षक महर्जनले थपे ।
गत मंसिर ३ मा कुवेतसँग भएको खेल अघि ‘डिस्को काण्ड’ मा मुँछिदा तीनै खेलाडी एन्फाको कारबाहीमा परेका थिए । एन्फाको कारबाही, 'ए' डिभिजन लिगमा गरेको प्रदर्शन र प्रशिक्षक योहान कालिनको नजरमा नपर्दा उनीहरु एक वर्षयता राष्ट्रिय टिम बाहिर रहँदै आएका छन् ।
विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलका लागि भुटान प्रस्थान गर्नु अघिल्लो रात ‘डिस्को' गएको पाईएपछि एन्फाले विमल, सन्तोष, दिनेश र अन्जन बिष्टलाई टिम बाहिर राखेको थियो ।
एन्फाले मंसिर २७ गते विमल र दिनेशलाई ९० दिनको फुटबलमा प्रतिबन्ध सुनाएको थियो भने अन्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको थियो । उनीहरुलाई खेलाडीलाई ५० हजार जरिवाना समेत सुनाईएको थियो ।
तर, प्रशिक्षक कालिनले लिगमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अन्जनलाई आफ्नो ३४ सदस्सीय टोलीमा फिर्ता बोलाएका थिए । अन्जनले बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेल समेत खेलिसकेका छन् ।
नेपालले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग उसैको मैदानमा खेलेको थियो । कोरोना संक्रमण र चोटका कारण टिमका नियमित केहि सदस्यले उक्त खेल गुमाएका थिए ।
एन्फाले प्रशिक्षणमा बोलाएका ३४ खेलाडीमा ७ खेलाडीलाई कोरोना र एक खेलाडीले चोट बोकेका थिए । ८ खेलाडीनै नेपालमै अड्किए भने बंगलादेश पुगेपछि कोरोनाका कारण रंजित धिमालले समेत पहिलो खेल गुमाएका थिए ।
तर, बंगलादेशविरुद्ध राष्ट्रिय टिमबाट ६ युवा खेलाडीले डेब्यु अवसर पाएका थिए । पहिलो खेलमा बंगलादेसँग २–० ले पराजित भएको नेपालले दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।
नेपाली टिम स्वदेश फर्किएर सातदोबाटोस्थित एन्फा होस्टेलको क्वारेन्टिनमा रहेका छन् ।
५ दिनको क्वारेन्टिन बसाईपछि नेपाली टिमको पीसीआर परिक्षण हुनेछ । पीसीआर परिक्षण लगत्तै एन्फाले पुनः टिमको अभ्यास थाल्ने तयारी गरिरहेको छ ।
नेपालले अर्काे महिना पाकिस्तानसँग मैत्रिपूर्ण खेल खेल्ने बताईएको छ । तर, एन्फाले यसबारे औपचारिक रुपमा केहि बताएको छैन ।